टिकाराज सापकोटा
अध्यक्षआदरणीय शेयर सदस्य महानुभावहरू,
सीमित स्रोत–साधनका बीच सानो पूँजीबाट सुरु भएको हाम्रो संस्थाको यात्रा आज १७ वर्षसम्म आइपुग्दा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्न सफल भएको छ। शेयर सदस्यहरूको निरन्तर विश्वास, सहभागिता, सहयोग र योगदानका कारण संस्था आज करिब रु. २ अर्ब २५ करोड बराबरको पूँजी निर्माण गर्न सफल भएको छ। यो उपलब्धि संस्थाको आर्थिक वृद्धिको परिणाम मात्र नभई हजारौँ शेयर सदस्यहरूको विश्वास, मेहनत, त्याग र सामूहिक एकताको प्रतिफल हो।
स–साना रूपमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी स्थानीय स्तरमै परिचालन गर्ने, स्थानीय स्रोत, सीप तथा सम्भावनाको उपयोग गर्ने र सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ संस्थाको स्थापना भएको हो। विगत १७ वर्षको यात्रामा शेयर सदस्य, सञ्चालक समिति, विभिन्न समिति तथा उपसमिति, कर्मचारी र शुभेच्छुकहरूको निरन्तर साथ र सहयोगले संस्थालाई वर्तमान अवस्थामा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ। यस अवसरमा सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौँ।
हाम्रो दृष्टिमा शेयर सदस्य नै संस्थाका वास्तविक मालिक हुन्। त्यसैले संस्थाका नीति, योजना तथा कार्यक्रमहरू सदस्यहरूको हित र आवश्यकतालाई केन्द्रमा राखेर अघि बढाइँदै आएका छन्। सदस्यहरूको बचत तथा लगानीको सुरक्षा, गुणस्तरीय वित्तीय सेवा, आर्थिक सशक्तीकरण र सन्तुष्टि संस्थाको प्रमुख जिम्मेवारी हो। सम्मान, सहकार्य, पारदर्शिता र उत्तरदायित्वलाई संस्थाको कार्यसंस्कृतिका रूपमा आत्मसात् गर्दै अघि बढ्नु हाम्रो प्रतिबद्धता हो।
बदलिँदो आर्थिक परिवेश, प्रविधिको तीव्र विकास, डिजिटल वित्तीय सेवाको विस्तार तथा सदस्यका नयाँ अपेक्षालाई मध्यनजर गर्दै संस्था पनि समयानुकूल रूपमा रूपान्तरण हुँदै जान आवश्यक छ। सहकारीलाई केवल बचत संकलन र कर्जा प्रवाह गर्ने परम्परागत वित्तीय संस्थाका रूपमा सीमित नराखी सदस्यहरूको आर्थिक क्षमता अभिवृद्धि, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय उत्पादन र व्यवसायको विकासमा प्रभावकारी माध्यमका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो।यसै सन्दर्भमा आगामी दिनमा सदस्यहरूको सानो–सानो बचतलाई सुरक्षित तथा प्रभावकारी रूपमा परिचालन गर्दै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने, कृषि, व्यापार, व्यवसाय, उद्योग तथा उद्यमशीलतामा आधारित परियोजनालाई प्राथमिकता दिने, युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने र सदस्यहरूको आयआर्जन तथा रोजगारी सिर्जनामा योगदान पुर्याउने हाम्रो प्राथमिकता रहनेछ।
संस्थाको दिगो विकासका लागि वित्तीय अनुशासन, सुशासन, पारदर्शिता, प्रभावकारी जोखिम व्यवस्थापन, कर्जा असुली, खराब कर्जा नियन्त्रण तथा नियामकीय प्रावधानहरूको पूर्ण पालना अपरिहार्य छन्। साथै, आधुनिक प्रविधिको अधिकतम प्रयोग, डिजिटल सेवाको विस्तार, वित्तीय साक्षरता अभिवृद्धि तथा गुणस्तरीय सदस्य सेवामार्फत संस्थालाई अझ सुरक्षित, सक्षम, प्रतिस्पर्धी र सदस्यकेन्द्रित बनाउँदै लैजानेछौँ।
विगतमा सानो–सानो पूँजीलाई एकीकृत गरी ठूलो पूँजी निर्माण गर्न सफल भएजस्तै अब यही पूँजीलाई उत्पादन, रोजगारी, उद्यमशीलता र आर्थिक समृद्धिसँग जोड्नु हाम्रो प्रमुख दायित्व हो। सदस्यहरूको आर्थिक जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउने र स्थानीय स्रोत तथा सम्भावनालाई परिचालन गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने लक्ष्यका साथ संस्था अघि बढ्नेछ।
अन्त्यमा, संस्थाको स्थापनादेखि आजसम्म निरन्तर विश्वास, साथ, सहयोग र योगदान गर्नुहुने सम्पूर्ण शेयर सदस्य महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। आगामी दिनमा पनि यही विश्वास, एकता, पारस्परिक सहयोग, इमानदारी र सामूहिक प्रतिबद्धतालाई निरन्तरता दिँदै संस्थालाई अझ सबल, सक्षम, प्रविधिमैत्री, पारदर्शी, सुरक्षित र सदस्यकेन्द्रित सहकारी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
जय सूर्यदर्शन
जय सहकारी!
धन्यवाद।